काठमाडौँ,१६ साउन ।
भुटानले भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पाेखरा विमानस्थलमा सिधा उडान अनुमति मागेको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले नेपालसँग भैरहवा र पोखराका लागि पनि सिधा उडानको अनुमति मागेको हो ।
भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ ले नेपालका दुई सहरमा सिधा उडान अनुमति दिन शुक्रबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको प्राधिकरणले जनाएको छ ।
आफ्ना दुई अन्तर्राष्ट्रिय वायुसेवाबाट भुटानले भैरहवा र पाेखरामा सिधा व्यावसायिक उडानका लागि अनुमति मागेको प्राधिकरणका एक अधिकृतले जानकारी दिए ।
दशककौंदेखि नेपालमा उडान भर्दै आइरहेकाेले भुटानी वायुसेवालाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिन कुनै प्राविधिक समस्या नभएको प्राधिकरणकाे भनाइ छ ।
नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा बौद्धमार्गी पर्यटक लाभान्वित हुन सक्ने भुटानको आकलन छ ।
भुटानले यी दुई रुटमा हुने अन्तर्राष्ट्रिय उडानले नेपाली र भुटानीबाहेक अरू मुलुकका पर्यटकका लागि पनि सहज हुने पत्रमा उल्लेख गरेको छ ।
दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।
एक वर्षअघि सञ्चालनमा आएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयर र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने सञ्चालनमा आएको ७ महिना बित्दा पनि कुनै पनि विदेशी वायुसेवाले नियमित उडानको अनुमति लिइसकेका छैनन् ।
कम्तीमा २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्माण गरिएको उक्त विमानस्थलमा भुटानी वायुसेवालाई उडानका लागि रुटको समस्या हुने छैन । पूर्वी इलामको आकाश हुँदै गल्फ–३४८ रुटबाट जहाजले भुटान ओहोदोहार गर्न सक्छन् । यो रुट काठमाडौंको आकाश हुँदै पोखरासँग जोडिएको छ । त्यसैगरी भैरहवा–भुटान (पारो) उडानका लागि पनि हवाई रुटको झमेला छैन ।
हाल ड्र्युक एअरले एटीआर र एयरबस ए–३१९ बाट सातामा चार र भुटान एअरले एयरबस ए–३१९ बाट सातामा दुइटा पारो–काठमाडौं उडान भर्दै आइरहेको छ । ड्र्युकले नेपालसहित एसियाका १० वटा गन्तव्यलाई राजधानी थिम्पुसँग जोडेको छ भने भुटान एअरले काठमाडौंसहित ५ वटा एसियाली सहरमा उडान भर्दै आइरहेको छ ।






