काठमाडौँ,१५ साउन ।
नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
सोमबार सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा एमालेले उच्चस्तरीय समिति गठन नभएसम्म अवरोध जारी राख्ने अडान राखेको थियो । एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो । एमाले सचेतक महेश बर्तौलाले छलफलमा आफ्नो कुरा राखेको बताए ।
‘हामीले हाम्रो कुरा राख्यौ तर कुनै सहमति भएको छैन’, बर्तौलाको भनाइ छ ।
संसदको अवरोध खोल्ने विषयमा सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता पनि भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग पनि छलफल गरे । भेटमा प्रधानमन्त्री संसदको अवरोध खुलाउने र सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयक अगाडि बढाउने विषयमा सकारात्मक भइदिन आग्रह गरेका थिए ।
माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जारी अवरोध खुलाउने सहमति भएको थियो । सुरुमा एमालेको एक जना सांसदले बोल्ने र त्यसपछि सुन प्रकरणको विषयमा गृहमन्त्रीले जवाफ दिने तय भएको थियो ।
‘तर बालुवाटारमा भएको सहमति एमालेले बानेश्वर आएर उल्लंघन ग¥यो’, पाण्डे भन्छन्, ‘शीर्ष तहमा सहमति भयो भनेर गृहमन्त्री जवाफ दिने तयारी गरेर दिउँसो १ बजे नै संसद भवन आउनुभयो । तर, एमालेले बोली फेरेपछि बैठक नै बस्न सकेन ।’
सत्तारुढ दलहरुले भने सबै घटनामा उच्चस्तरीय छानबिन समिति गठन गर्नु उचित नहुने बताइरहेका छन् । सरकारी अनुसन्धान टुंगोमा पुगेपछि मात्रै संसदले छानबिन समिति बनाउन सक्ने उनीहरुको तर्क छ ।






