काठमाडौँ,१५ साउन ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उक्त गाउँपालिका–७ अन्तर्गतको सडक पिसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँचपछि भुक्तानी दिने कार्यमा सेवाग्रहीसँग घुस मागेको आरोपमा यादवविरुद्ध मुद्दा दायर गरेको हो । आयोगको बुटवलस्थित कार्यालयले यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मझगाँवा इन्जिनियर यादवले कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए ।
इन्जिनियर (सेवा करार) यादवको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको भन्दै आयोगले बिगो बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय मागदावी लिई विशेषमा आरोपपत्र दायर गरेको जानकारी दाहालले दिए ।






