काठमाडौँ,१४ साउन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट क्वीन्टल बढी तस्करीको सुन भित्रिएको विषयमा छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार बसेको समितिको बैठकले क्वीन्टल बढी तस्करीको सुन भित्रिएको विषयमा निस्पक्ष छानबिनका लागि छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएकाे हो ।
बैठकमा सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।
यस्तै बैठकले तराई क्षेत्रमा खानेपानी अभाव रहेको, पानीको अभावका कारण रोपाई गर्न समस्या भएकोले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।






