काठमाडौं,१३ साउन ।
देशका धेरैजसो ठाउँमा अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ ।
मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो।
उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाे अनुमान छ ।
महाशाखाका मौसमविद् विनु महर्जनले देशका धेरैजसो स्थानमा आगामी दुई-तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताइन् ।
उनका अनुसार पछिल्लो एक घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।
आज राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्यांङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
विगत दुई दिनयता देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार साउन ६ गतेसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ । गत जेठ १८ देखि साउन ५ गतेसम्म देशभर सरदर ५३८.२ मिलिमिटर वर्षा भएको छ । मनसुन अवधिभर नेपालमा एक हजार ४६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ ।






