काठमाडौं,९ साउन ।
बागलुङको एक इलाका प्रहरी कार्यालयका इन्चार्ज झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् ।
पौडेल बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा होटल संचालकको छोरोले देखेपछि पासो काटेको बताइएको छ । प्रहरीले होटल संचालिका र उनका छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख योगेन्द्र खड्काले आफु भर्खर घटनास्थल पुगेको र घटना बारे बुझ्दै गरेको बताए ।






