बुटवल, ८ साउन ।
अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयां मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् ।

मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुंजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए ।

‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ,जग्गा कारोबार पनि सहज हुन्छ’–नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले भने–‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ ।’

आफूले तस्करीको सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दावी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताए ।

सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्स्थ्य वीमा बोर्डको वीमा रकम नपाएका कारण मनपरी बोलेको बताए ।

पार्टीको केन्द्रीय समिति बैठक लाइभ हुंदा बाहिर चर्चाका लागि बोल्ने नेताहरुबारे भ्रम हटेको प्रवक्ता महतले बताए ।

नेपाल प्रेस युनियन रूपन्देहीका अध्यक्ष कबिन्द्र नेपालकाे सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।