बुटवल,६ साउन ।
रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालको गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना शनिबार गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले उनको गाडी नियन्त्रणमा लिएको हो ।
जिल्ला शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले पुष्टि गरे । उनले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासनका बुझाइदिने र सरकारी गाडी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारवाही हुने जानकारी दिए ।
शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै शिक्षा समन्वय प्रमुख ढकाल मदिरा पार्टीमा फेला परेका थिए । सरकारी सवारी साधनको दुरुपयोग गर्दै ढकाल पाल्पाको नुवाकोट पुगेर मदिरा पार्टीमा सहभागी भएको भेटिएका थिए ।
उनले जिल्ला प्रशासन कार्यालयको अनुमती विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको निर्देशनमा ट्रापिक प्रहरीले गाडी नियन्त्रणमा लिएको बताइएको छ । शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर मदिरा पार्टीमा रम्दै गरेको अवस्थामा फेला परेका थिए ।
सार्वजनिक बिदाको दिन बुटवलकै एक निजी विद्यालयको कार्यक्रममा सहभागि भएका ढकालको गाडी बुटवलका केही पत्रकारहरुले पिछागर्दै जादा उनि नुवाकोटमा फेला परेको बताइएको छ ।
उनको गाडी ट्राफिकले नियन्त्रणमा लिएपछि बुटवल स्थित एक निजी विद्यालयका प्रधानाध्यापक बाबुराम बन्जाडेले आफ्नो निजी गाडीमा हालेर उनीहरुलाई दयानगर छपियामा लगेका छन् । ढकालले यसअघि पनि पटक–पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।







