काठमाण्डाै,४ साउन ।
झन्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको आशङ्कामा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपालबाट चीन जान लागेका ३६ वर्षीय जेक्यूयाङ लिनलाई बिहीवार त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो । सात महिनाअघि नेपाल आएका लिनले यहाँ बसेर अवैध तरिकाले सुन आयात गरेर कारोबार गर्दै आएको खुलेको प्रहरीको दाबी छ । विमानस्थलबाट पक्राउ परेका लिनलाई थप अनुसन्धानका लागि अध्यागमन विभागले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।

हिजो बुधवार चीनबाट आयात भएका स्कुटरका ‘ब्रेक शु’ मा लुकाएर ल्याएको झन्डै एक सय किलो सुन विमानस्थल भन्सारबाट बाहिरिएको थियो । सुन बाहिरिनेबित्तिकै राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो ।

घटनामा भन्सार एजेन्टसहित छ जना हिजो नै पक्राउ परिसकेका छन् । भन्सार विभागले विना जाँच झन्डै एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि समिति गठन गरिसकेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।