बुटवल,३ साउन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्कमा वृद्धि नगर्न निर्देशन दिएका छन् ।

बुधबार बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा प्रमुख पाण्डेयले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनका लागि संस्थागत विद्यालयहरुले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताएका हुन् ।

कक्षा ११ को भर्ना शुरु हुनुअघि संस्थागत विद्यालयहरुसँग आयोजित छलफलका क्रममा उनले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिन निर्देशन समेत दिए ।

’विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफुअनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला, उनले छलफलका क्रममा भने–विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुराहरुमा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस् ।’

उनले विद्यालयहरुले गुणस्तर वृद्धि र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउँदै प्रतिस्पर्धाका नाममा विद्यार्थीमाथि अन्याय नगर्न आग्रह गरे । विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न उनले आग्रह गरे ।
उनले संस्थागत विद्यालयहरुले मनपरी रुपमा शुल्क लिदै आएको गुनासो आएको भन्दै नगरले तय गरेको भन्दा बढी शुल्क नलिन निर्देशन दिए । मनपरी रुपमा शुल्क लिनेहरुलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने उनले चेतावनी दिए ।
उनले आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउदै लैजाने प्रतिबद्धता जनाए ।

विद्यालयहरुको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै नगर प्रमुख पाण्डेयले यसले विद्यालयहरुको शिक्षामा सुधार आउने विश्वास व्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिदै उनले नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकोले त्यसको तयारी गर्न आग्रह समेत गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले संस्थागत विद्यालयहरुको गुणस्तरका साथै सीपमूलक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले बुटवललाई शिक्षामा अग्रणी बनाउनका लागि संस्थागत विद्यालयहरुको भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

सो अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरु एउटै नियम र पद्धतिमा चल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपस्थित संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताएका थिए ।
उनिहरुले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको बताए ।