काठमाडौँ,३१ असार ।
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले आइतबार बजेटसम्बन्धी तीनवटा विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

संविधानको धारा ११३ को उपधारा १ बमोजिम संघीय संसद्‌बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको सोही धाराको उपधारा २ बमोजिम राष्ट्रपतिले ती विधेयकहरू प्रमाणीकरण गरेकाे राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विधेयक प्रमाणिकरण भएसँगै सरकारलाई भाेली साउन १ गतेदेखि बजेट खर्च गर्ने बाटो खुलेको छ ।