धनगढी,२८ असार ।
भारतमा चोरी गरेर नेपाल आउदै गरेका नेपालीहरु कैलालीको टीकापुर नजिकैको नाकाबाट पक्राउ परेका छन् । बिहीबार भारतबाट नगद रकम र ठूलो मात्रामा सुन चोरी गरेर नेपालतर्फ घर फर्किने क्रममा तीन जना नेपाली पक्राउ परेका हुन् ।

उनीहरुलाई ३ करोड भारतीय रुपैयाँ र १५ किलो जति सुनसहित भारतीय प्रहरीले नाकाबाटै पक्राउ गरेको हो । भारतीय प्रहरी स्रोतका अनुसार उनीहरुलाई तिकुनियाँबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका-८ का शंकर साउँद, उनकी पत्नी र बर्दियाका एक अर्का युवक रहेको खुलेको छ। उनीहरु तीनैजना तिकुनियाँको बसपार्कबाट पक्राउ परेका थिए ।

भारतमा मजदुरी गर्दै आएका उनीहरुले त्यहाँ लुट मच्चाएर नेपाल भाग्न लागेको बताइएको छ। यता, कैलालीको सशस्त्र प्रहरीले पनि यसबारे भारतीय प्रहरीबाट जानकारी लिइरहेको र विस्तृत विवरण खुल्ने क्रममा रहेको बताएको छ ।