बुटवल,२५ असार ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिकाले अभिभावक र विद्यार्थीको भावनाविपरीत निश्चित पसलबाट मात्र विद्यार्थीको पोसाक खरिद गर्न बाध्य नपार्न विद्यालयलाई निर्देशन दिएको छ ।

व्यापारीसँगको मिलेमतोमा टेन्डरमार्फत पोसाक खरिद गरी विद्यार्थी र अभिभावकलाई निश्चित पसलबाट मात्र पोशाक खरिद गर्न बाध्यात्मक परिस्थिति सिर्जना गर्दा विद्यार्थीले आफूलाई मिल्दो पोसाक लगाउन नपाएको गुनासो आएपछि उक्त कार्यमा रोक लगाएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले साेमबार एक सुचना जारी गरि उक्त निर्देशन दिएको हो ।
‘नगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत विद्यालय तथा क्याम्पसहरूले विद्यार्थीहरुको पोसाकका सम्बन्धमा निश्चित व्यापारीहरुसँगको मिलेमतोमा टेन्डरमार्फत पोसाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकहरूलाई निश्चित पसलबाट मात्र पोसाक खरिद गर्न बाध्यात्मक परिस्थिति सिर्जना गरेको, जसबाट विद्यार्थीले आफूलाई मिल्दो पोसाक लगाउन नपाएको भनी कार्यालयमा विभिन्न माध्यमबाट गुनासो प्राप्त भएकाले नगरभित्र सञ्चालित कुनै पनि शैक्षिक संस्थाले अभिभावक र विद्यार्थीको भावनाविपरीत त्यस्तो कार्य नगर्नु नगराउनुहुन जानकारी गराइन्छ‚’ सूचनामा भनिएको छ ।

साथै नियमविपरीत यस्ता कार्य गरेको पाइएमा नियमानुसार कारबाही गर्ने चेतावनीसमेत सुचनामा दिइएको छ ।