काठमाडौँ,२५ असार ।
सट्टेबाजी प्रकरणमा पक्राउ परेका हास्य कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनिहरू बिरूद्व आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, म्याकुरी भन्ने रोशन खतिवडा, बेगम नेपाली, अलिस राई, जलन घर्तिमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेललाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) र, दफा २५ को उपदफा (१) बमोजिम एक वर्ष कैद र जनही १० हजार रुपैयाँ जरिवानाको मागदावी लिइएको छ ।

निषेध गरिएको विषयमा उनीहरुले विज्ञापन गरेको र जुवा वा सट्टेबाजीलाई प्रोत्साहन दिएको कारण उनीहरुमाथि कैद सजाय र जरिवानको मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

प्रहरीले पक्राउ गरी मुद्दा चलाएका ११ जना प्रतिवादीमध्ये २८ वर्षीय दिनेश खड्का र २९ वर्षीय अनिता धिताललाई भने जनही ७ वर्ष कैद र चौसठ्ठी करोड चौरानब्बे लाख उनन्तीस हजार आठ सय बीस रुपैया बिगो मागदावी लिइएको छ । उनीहरुको मुद्दामा सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ ।