काठमाडौ,२५ असार ।
आज देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
हिजोअस्तिको तुलनामा आज धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्काे अनुमान छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले मनसुन सक्रिय भइरहेकाले आज देशभर नै पानी पर्ने अनुमान छ । विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् । उनकाअनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
मनसुन सक्रिय रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने पनि मौसमविद्ले बताएका छन् । देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पनि देशभरको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । भोलि पनि कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।









