काठमाण्डौ,२४ असार ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर सदन अबरुद्ध गर्नु दुवै गलत भएको बताएका छन् ।
आइतवार संघीय संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताउदै सोही बिषयलाई लिएर एमालेले सदन अबरुद्ध गर्नु पनि गलत भएको बताएका हुन् ।
प्रधानमन्त्रीले संसद्, सांसद र नागरिकको आत्मसम्मानमा असर पु¥याउने गरी बोल्न नमिल्ने बताउदै उनले प्रतिपक्ष नेकपा एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताए ।
स्थिर सरकारको परिकल्पना गरेर पाँच÷पाँच महिनामा राजीनामा माग्नु गलत भएको उनको भनाइ छ ।
उनले भने, ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदको र नागरिकको पनि आत्मसम्मानलाई असर पु¥याउने गरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच÷पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्ने गरी एमालेले राजीनामा माग्नु पनि बेठिक हो । हरेक कमजोरीलाई सुधार्दै कुनै पनि सरकारले पाँच वर्षसम्म काम गर्नसक्ने अवस्थाको पो परिकल्पना गर्ने हो त । प्रतिपक्षले राजीनामा माग्नुलाई सस्तो विषय बनाउनु हुँदैन ।’
महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनी विगतको स्मरण गराए ।






