बुटवलं,१६ असार ।
गत चौबिस घन्टामा नवलपुरमा सबैभन्दा धेरै २२१ मिलिमिटर पानि परेको जल तथा मौसम विज्ञान बिभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

स्याङ्जामा २१४ मिलिमिटर, तनुहँमा १९० मिलिमिटर, पाल्पामा १८१ मिलिमिटर, पाल्पाको तानसेनमा १६८ मिलिमिटर, रूपन्देहीमा १६६ मिलिमिटर र दाङमा १५८ मिलिमिटर वर्षा भएको छ ।
पाल्पा, रूपन्देही र नवलपुरमा भारी वर्षा हुँदा तिनाउ नदीले खतराको तह पार गरेको थियो । अहिले उक्त नदीमा पानीको बहाब घटेर सतर्कता तह भन्दा तल पुगेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त नदीमा पानीको बहाब घट्दो क्रममा छ ।
महाशाखाले गएराति दखि नै ती जिल्लाका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकाले उक्त जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम बढेको र होँचा स्थान डुब्न सक्ने चेतावनी दिएको थियो ।
ती जिल्लाका केही स्थानहरूमा अहिले पनि भारी वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन् ।









