चितवन,१६ असार ।
लगातारको बर्षासँगै गएको पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अझै सुचारु हुन सकेको छैन ।
पहिरो खस्ने क्रम नराेकिएकाेले सडक सुचारु गर्न कठिनाइ भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
शनिबार बिहान ११:३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार बिहान ३:१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर सवारी आवागमन अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।






