काठमाण्डौ,१२ असार ।
सरकारले देशका विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम स्थापना गर्ने भएको छ ।

मंलवार बसेको मन्त्रिपरिषद्को बैठकले देशका विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय भएको जानकारी दिइन् ।

बैठकले रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो ।

प्रवक्ता शर्माले देशका विभिन्न ठाउँबाट औधोगिक ग्राम स्थापनाका लागि प्रस्ताव आएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको बताइन् ।
हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारी नीति अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको उनको भनाई छ ।

यस्तै बैठकले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रूपमा नवराज अधिकारीलाई नियुक्त गरेको छ ।
बैठकले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको छ ।