काठमाडौं,११ असार ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक सिताराम रिजालले बताए । ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी बनाइएको रिजालले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।
पक्राउ परेका बुढाथोकीलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरिने पनि उनले बताए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूली गरेको प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो । त्यसबेला १६ जना मात्रै पक्राउ परेका थिए । पछि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो ।

प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । सो प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा लगायत केही अझै फरार रहेका छन् ।