काठमाडौँ,१० असार ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा पत्रिका नपढ्न सांसदहरूलाई रुलिङ गरेका छन् ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा बजेटमाथिकाे मन्त्रालयगत छलफल भइरहेको समयमा सांसदले पत्रिका पढेपछि सभामुख घिमिरेले पत्रिका नपढ्न सांसदहरूलाई रुलिङ गरेका हुन् ।
छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै गरेका गृहमन्त्री नारायणकाजी श्रेठलाई रोक्दै सभामुख घिमिरेले भने– ‘प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ‘ञ’ को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै प्रतिनिधिसभाको बैठकमा पत्रिका पढ्ने काम नगर्न आग्रह गर्दछु ।’ उनले कुन सांसदले पत्रिका पढेको भन्ने बारेमा भने खुलाएनन् ।
त्यसपछि उनले फेरि मन्त्री श्रेष्ठलाई आफ्नो भनाईलाई निरन्तरता दिन आग्रह गरे । प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सांसदहरुले पालना गर्नुपर्ने विभिन्न नियमहरु रहेको छ । त्यस्ता नियम उल्लंघन भएको अवस्थामा सभामुखले सांसदलाई सचेत गराउँने अधिकार रहेको छ ।






