काठमाण्डाै,९ असार ।
आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
गएराति कास्कीको पोखरा,काभ्रेपलाञ्चोक,मकवानपुर र बारामा धेरै पानी परेको छ ।
गएको जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन हिजो देशभर फैलिएको छ । अहिले मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।









