गोरखा, ८ असार ।
गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका हुन् ।

जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।

शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान करिब २ बजेतिर दुर्घटना भएको हो । उक्त जिप घुम्ती सडकबाट अन्दाजी २५० मिटर तल भीरमा खसेको छ ।

जिपमा १९ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।