काठमाण्डाै,४ असार ।
काठमाण्डौ महानगरपालिकाले आज सोमवारदेखि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लागाएको हो ।
भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा हिजोसम्म पनि नहटाएकोले काठमाण्डौ महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएकाे महानगरपालिकाले जनाएको छ ।
आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय सिनेमा प्रदर्शनमा रोक लगाउने महानगरपालिकाले जनाएको छ । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेर राष्ट्रहितको रक्षा गर्नु हरेक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नरहेको मेयर शाहको भनाइ छ । काठमाण्डौ महानगरपालिकाभित्र १७ वटा सिनेमा हल छन् ।






