भावानुवाद: जुगल भुर्तेल
समयको हुरीमा मानिसहरू छुट्टिन सक्छन्। तर के उनीहरूसँग जोडिएको भावना पनि त्यति सजिलै बिलाएर जान्छ र?

रूसी कवि भेरोनिका तुश्नोभाको ‘ने अत्रेकायुत्स्या ल्युब्या’ शीर्षकको कवितामा आधारित यो रचनाले त्यही प्रश्नको उत्तर खोजिरहेको छ ।

प्रेम सहजै त्यागिँदैन

थिग्रिएर रहन्छ भित्र कतै

सिनित्त मेटिँदैन

सास रहुञ्जेल आश हुन्छ

आखिर जिन्दगी

भोलि नै त सकिँदैन…

के थाहा —

म प्रतीक्षा र दुबिधाले थाकेर

स्मृतिका अक्षरहरूलाई मेटाउँला

तर हतास, निरास, सहारा खोज्दै

तिमी अकस्मात फर्केर आउन सक्छौ

जीवनमा फेरि कम्पन ल्याउन सक्छौ…

मलाई थाहा छ —

जब जब निस्पट्ट अँध्यारो हुन्छ

चिसो हुरी झ्यालमा ठोक्किन्छ

ठिहिऱ्याउने सिरेटोले जब मुटु काम्छ

त्यस बेला आउँछ तिमीलाई याद

मेरो आत्मीय सहारा, मायालु हात

अवश्य आउँछ तिमीलाई याद

स्नेहको यही घर, यही छानो

स्पर्शका तिनै पल, त्यही न्यानो!

कुनै बेला आफैंले निरस ठानेको

हाम्रो सामिप्य र न्यानोको

यति न्यास्रो लाग्नेछ तिमीलाई

कि,

कहिले हिँड्दै, कहिले दौडिँदै

छिचोल्दै हिमपात र ठिहीलाई

सकी नसकी घस्रिँदै घस्रिँदै

बाटो बिराउँदै, हराउँदै

तिमी मेरो गेटैमा आउनेछौ

डराउँदै, धकाउँदै

बिस्तारै बोलाउने छौ…

आँधीमा फर्फराइरहेका किताब

हुरीमा चुइँकिरहेका झ्याल

यिनै आवाजले चिरिरहेको शून्यता

र घरभित्र हुनेछ, उदास मौनता

तिमी एकै सासमा उक्लिएर भर्‍याङ

एकछिन टोलाउने छौ

र कठ्यांग्रिएका हातले

मेरो ढोका ढकढक्याउने छौ…

त्यो दिन आउने

मलाई विश्वास हुञ्जेल

त्यो दिन आउने

मेरो आश रहुञ्जेल

प्रिय,

तिमीलाई ढोकैमा बसेर

नकुर्न सक्दिनँ

यो माया म मार्न सक्दिनँ!

यो माया म मार्न सक्दिनँ…!

ट्विटरः @JugalBhurtel