काठमाण्डौ,३२ जेठ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले देशलाई कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याजमा कर लगाइएको बताएका छन् ।
उनले किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको समेत बताए ।
बिहीवार अर्थ मन्त्रालयमा किसानसँगको भेटमा अर्थमन्त्री महतले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताए । उनले सरकारले स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको दाबी गरे । आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने सरकारको मुख्य उद्देश्य रहेको भन्दै उनले बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए ।
आलु, प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने भन्दै अर्थमन्त्री महतले उल्टो मूल्य घट्ने दाबी गरे । सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएको उनको भनाइ छ । उनले तरकारीमा कर लगाउने सरकारको कदम देशलाई कृषिमा आत्मनिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताए ।
उहाँले भने, ‘आर्थिक विधेयकमा आलु, प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने हो । यो करको व्यवस्थाले मूलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नुपर्ने भन्ने बहस भइरहेको छ । त्यसैले आयातको सट्टा देशभित्र उत्पादन बढाऔँ भनेको हो ।त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मनिर्भरतातर्फ उन्मुख हुन्छ भनेर त्यो प्रस्ताव गरिएको हो । सरकारले कृषि क्षेत्रमा दिने अर्बाैँको अनुदानको सदुपयोग भएन । दुरुपयोग भयो । कागज देखाएरमात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन ।’
अर्थमन्त्री महतले सरकारले नयाँ प्रविधि प्रयोग गर्ने किसानलाई प्राथमिकतामा राखेर उत्पादनमा आधारित अनुदान दिने पनि बताए । किसानलाई ढुक्क भएर उत्पादन बढाउन उनले आग्रह गरे ।






