काठमाडौँ,३२ जेठ ।
अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकारहरूसमेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हास्य कलाकार ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल र ‘बल्छी धुर्वे’ भनेर चिनिने मरिचमान श्रेष्ठ, ‘भटभटे’ भनेर चिनिने बेगम नेपाली, ‘म्याकुरी’ भनेर चिनिने पवन खतिवडासहित केही युट्युबर, टिकटक प्रयोगकर्तालगायत रहेका छन् ।
उनीहरूले सट्टेबाजी गरेर र कुनै पनि खेलको जित/हारको बारेमा पैसा लेनदेन गरी बाजी खेलाएको प्रहरीले जनाएको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले प्रहरीको विशेष टोलीले हिजो बुधवार बेलुका उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।
पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्ररूपमा हुन थालेपछि प्रहरीले ‘अपरेशन’ थालेको हो ।
यसअघि हिजै दिउँसो प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना एजेन्टहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीहरूले ७४ करोड रुपैयाँको कारोबार गरेको खुलेको थियो । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न/गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।






