काठमाण्डाै,३१ जेठ ।
यस वर्षको मनसुन नेपाल भित्रिएको मौसमविदले बताएका छन्

नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन आइपुगेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको अरु भू–भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन बिस्तार हुँदै जाने महाशाखाद्वारा जारी विशेष बुलेटिनमा उल्लेख छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपालमा प्रवेश गरेको हो ।

नेपालमा जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताए ।