काठमाण्डाै,२७ जेठ ।
गाँजा खेती गर्न पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन
भएको छ ।

नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन् ।

नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ ।

औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ । तर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथिको छलफलमा भाग लिँदै गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने कुराको विरोध गरेका थिए ।

गाँजा खेती खुल्ला गरेमा अहिले बाँझो रहेको जमिनमा खेती गरेर करोडौँ रुपैयाँ आम्दानी गर्न सकिने अभियन्ताहरुको दाबी छ।