बुटवल,२६ जेठ ।
नेपाली कथानक चलचित्र रोशनीको गीत जुनी जुनीको शुक्रबार बुटवलमा विमोचन भएको छ ।
चलचित्र रोशनीको मुख्य अंशका रुपमा रहेको उक्त गीतमा गायक अनिल पहाडी र आयीका अन्जु पन्तले स्वर दिएका छन् । गीत विमोचनपछि बोल्दै गायक पहाडीले चलचित्र क्षेत्रमा आफूले पहिलो पटक स्वर दिएको अनुभव सुनाउँदै दर्शक तथा स्रोताले साथ दिनेमा विश्वास व्यक्त गरे । चलचित्रले देखाउन खोजेको मूल सन्देशलाई थप अर्थपूर्ण र मिठासका लागि यो जुनी जुनी बोलको गीतले सहयोग गर्ने उनले बताए ।
डा. कृष्णहरी बरालको शब्द रहेको गीतमा चलचित्रका कलाकारहरु रमेश अब्जु, कशिसा दाहाल, नितल पल, सुरज राना तथा मेनका गिरीको अभिनय रहेको छ । यसैगरी चलचित्र रोशनीको शनिबार बुटवलमा च्यारिटी शो हुने भएको छ ।
बुटवलको मिलन हलमा दिउसो ३.४५ बजेदेखि सोको आयोजना गरिएको निर्माता रमेश आब्जुले जानकारी दिए ।
चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले च्यारिटी शोमा करिब १ हजार दर्शकको उपस्थिती रहने जानकारी गराए । बुटवलसहित मुलुकका विभिन्न शहरहरुमा गएर चलचित्र छायाँकन गरिएको जानकारी दिए । ५० लाख बढी लगानी गरिएको यो चलचित्रले दर्शकलाई फिल्म अवधिभर पूर्णरुपमा भुलाउन सक्ने क्षमता रहेको दाबी गरे ।
यसैगरी निर्माता मलिन भारी, चलचित्रका नायक नितन पल लगायतले बोल्दै संघीय राजधानी काठामाण्डौं बाहिरका विभिन्न शहरहरुको जनजिविकालाई टिपेर बनाइएको चलचित्र भएका कारण मोफसलबाटै सबैभन्दा बढी दर्शक पाउने विश्वास व्यक्त गरे ।
चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार मनिष पन्त, संगीतकार सुरेश सेन्चुरी, गायक सौगात सायर, लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगर, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली लगायतले फिल्म तथा जुनी जुनी बोलको गीतलाई सफलताको शुभकामना व्यक्त गरे ।
फिल्म समावेश गरिएको जुनी जुनी बोलको गीतले साच्चै नै मनको गहिराईलाई बुझ्न सक्ने र समसामयीक धरातलमा रहेर तयार पारिएको भन्दै उनिहरूले प्रशंसा गरे ।
उनिहरूले अधिकांश स्थानीय कालकारहरुको सहभागीता रहेको रोशनी फिल्म र त्यसमा समावेश गीतलाई यहाँका दर्शक तथा स्रोताले साथ दिने विश्वास ब्यक्त गरे ।
कार्यक्रम पत्रकार डि.बी. सुस्लिङको सञ्चालनमा भएको थियो ।






