बुटवल,२५ जेठ ।
नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले बजेटले एकात्मक राज्य प्रणालीको झल्को दिएको टिप्पणी गरेका छन् । उनले यसपालि पनि अमूक जिल्ला र योजनामा बजेट पार्ने प्रवृत्ति को पुनरावृत्ति भएको बताए ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै लुम्बिनी प्रदेश सभाका पुर्ब सभामुख समेत रहेका सांसद घर्तीले भने, ‘अमूक जिल्ला, अमूक आयोजनामा बजेट पार्न कि पहुँच हुनुपर्ने कि मन्त्री नै हुनुपर्ने पुरानो प्रवृत्ति पुनरावृत्ति अहिलेको बजेटमा पनि देखा पर्‍यो ।’

उनलेे वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम विनियोजन भएको ५ अर्बमध्ये आधा रकम प्रधानमन्त्री, अर्थमन्त्री र देउवाको जिल्लामा मात्रै रहेको र आधार रकम ७४ जिल्लामा छुट्याइएको पाइएको उल्लेख गरे । यस खालको प्रवृत्तितर्फ संकेत गर्दै सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रकै सांसद घर्तीले बजेट पार्न पहुँच वा मन्त्री नै हुनुपर्ने विगतको प्रवृत्ति यसपटकको बजेटमा पनि देखा परेको बताए ।

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा एकदमै अप्रयाप्त बजेट विनियोजन गरिएको भन्दै उनले यसप्रति समेत असन्तुष्टि जनाए । ‘यसले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमको आशयलाई सम्बोधन गर्न सकेन’ उनले थपे, ‘बजेटले एकात्मक राज्य प्रणालीको झल्को दिन्छ । माफ गर्नुहोला यस्तै प्रकारको मलाई लाग्यो ।’

बजेटले दलाल अर्थतन्त्रको विकासलाई प्राथमिकता दिएको पनि उनको टिप्पणी छ । ‘दैनिक उपभोग्य वस्तु र विलासी वस्तुहरुमा गरेको करको वृद्धिदरले स्वाधीन अर्थतन्त्रको विकास भन्दा पनि दलाल अर्थतन्त्रको विकासलाई प्राथमिकता दिएको छ । यसले समाजवाद उन्मुख राष्ट्र निर्माणको संवैधानिक व्यवस्थालाई सम्बोधन गर्न सक्दैन’ माओवादी सांसद घर्तीको भनाइ छ । तथापि, बजेटमा कतिपय सकारात्मक पक्ष रहेको उल्लेख गर्दै उनले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । नेपालको वास्तविकताले भने संविधानमा उल्लेखित समाजवाद अर्थनीतिलाई गिज्याइराखेको उनको भनाइ छ ।

‘किसानले समयमा मल बीउ नपाएर बालीनाली नासिने र कोही उद्यमी र श्रम नै नगरी झन् झन् धनी हुँदै जानु, दिन प्रतिदिन हजारौं युवा विदेशतिर पलायन हुनु, देशमा कुनै रोजगारको व्यवस्था नहुनु, अनुसन्धान केन्द्र नास्टका वैज्ञानिकहरु काम नपाएर घाम तापेर बस्नुपर्ने जस्तो अवस्थाले हाम्रो संविधानमा उल्लेखित समाजवाद अर्थनीतिलाई गिज्याइराखेको छ । र अहिलेको बजेटले यसलाई समाधान गर्छ कि गर्दैन भन्ने संशय पैदा भएको छ’, सांसद घर्तीले भने ।

नेपालमा अर्थतन्त्रको चाबी दलाल नोकरशाही पूँजीपतिहरुको हातमा रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘राजनीतिक नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनको यसले विचित्रको एउटा अर्थ राजनीति हाम्रो देशमा विद्यमान छ । तसर्थ अर्थतन्त्रको आमूल पक्षलाई परिवर्तन नगरी समाजवादउन्मुख अर्थव्यवस्थाको अभ्यास गर्न सकिन्न । यो कुरामा सरकारले विशेष ध्यान दिन जरुरी छ ।’

बीपीको घरबास र जमिनको न्यायिक वितरणको कुरा होस् या पुष्पलालको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारमा नैसर्गिक अधिकारको कुरा किन नहोस् संविधानमा उल्लेखित समाजवादउन्मुख राज्य व्यवस्था र स्वाधीन आत्मनिर्भर अर्थतन्त्रलाई बजेटले केही उठान गरे पनि कार्यान्वयन पक्ष स्पष्ट हुन नसकेको उनकाे भनाइ छ ।