काठमाण्डाै,२३ जेठ ।
आज पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

विशेषगरी लुम्बिनी, गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका केही ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार बाग्मती र कोशी प्रदेशमा केही पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा पनि आज फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । हिजो साेमवार पनि यी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको थियो । मौसम बदली र वर्षाका कारण हिजाे बेलुकीपख केही शितल भएको थियो ।

आज पहाडी क्षेत्रमा पानी पर्ने अनुमान रहे पनि तराईका जिल्लामा भने गर्मी उस्तै छ । बिहानदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईको जनजीवन प्रभावित भइरहेको छ । तराईमा अझै एक/दुई दिन यस्तै गर्मीको सम्भावना रहेको मौसमविद् शाक्यकाे भनाइ छ । केही दिनदेखि तराईमा तातो हावा/’लु’ चल्न थालेको छ ।

गर्मी र ‘लु’ बाट जोगिन प्रशस्त पानी पिउन, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओढ्न विज्ञले सुझाव दिँदै आएका छन् । प्रि–मनसुनको अवधि सकिए पनि मनसुनी प्रणाली विकसित नहुँदा पानी पर्न सकेको छैन भने गर्मी पनि बढिरहेको छ ।