बुटवल,२१ जेठ ।
तराईमा अत्यधिक गर्मी बढेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालयहरुमा बिदा दिने निर्णय गरेका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ ।
‘नगर प्रमुखस्तरीय निर्णयानुसार विगत केही दिनदेखि बढिरहेको तापक्रमले अत्यधिक गर्मी भइ विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुँदा वार्षिक बिदाबाट समायोजन हुने गरी मिति २०८० । ०२ । २२ गते देखि २०८०।०३ । १७ गतेसम्म नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था (सामुदायिक तथा संस्थागत) हरुमा बिदा गर्ने निर्णय भएकोले सोही अनुसार गर्नु हुन जानकारी गराइन्छ ।’– तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
त्यस्तै, रुपन्देहीको सैनामैना नगरपालिकाले भाेली सोमबारदेखि जेठ २४ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयलाई बिदा दिने भएको छ । नगरपालिकाले जारी गरेको सूचनामा नगरभित्रका सबै विद्यालय भोलिदेखि जेठ २४ गतेसम्म बन्द हुने जनाइएको छ ।
‘विगत केही दिनदेखि अत्यधिक मात्रामा तापक्रम वृद्धि हुँदा दिउँसोको समयमा विद्यालय जाँदा, आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकोले यस सैनामैना नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरु मिति २०८० जेठ २२ देखि २४ गते सम्म वर्षे बिदाबाट कट्टा हुनेगरी गर्मी बिदा गरिएको व्यहोरा अनुरोध छ ।’– सूचनामा भनिएको छ ।









