काठमाडौँ,२१ जेठ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरूकाे अवरोधका कारण प्रतिनिधि सभाको बैठक भोलि सोमबारसम्मका लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले अवरुद्ध गरेको बैठक पुनः सञ्चालनकाे प्रयास विफल भएपछि सूचना टाँस गरेर भोलि सोमबारसम्मका लागि स्थगित गरिएको हो ।
आइतबार ११ बजेपछि बसेको आइतबारको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।
प्रमाणीकरण भएको विधेयक रद्द गर्नुपर्ने, संसदमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गरेका थिए । बैठक स्थगन लगतै अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरे पनि सहमति हुन नसकेको संसद सचिवालयले जनाएको छ ।
बैठक पुनः सञ्चालन गर्ने बिषयमा कुरा नमिलेपछि विशेष कारण देखाउँदै भोलि सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।






