बुटवल,२० जेठ ।
एसईई दिएर बसेका विद्यार्थीहरुलाई रचनात्मक कार्यमा सरिक बनाउने उदेश्यले बुटवलमा न्यू होराईजन खेल उत्सव–२०८० हुने भएको छ ।
बुटवलमा रहेको न्यू होराइजन माध्यमिक विद्यालयले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै शारीरिक तथा बौद्धिक क्रियाकलापहरुमा सहभागिता गराउन खेल उत्सवको आयोजना गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी यही जेष्ठ २३ गतेदेखि असार १ गतेसम्म चल्ने उत्सवमा क्रिकेट ,फुटसल, हाजिरीजवाफ र म्युजिकल ट्यालेन्ट हन्टको आयोजना गरिएको जानकारी गराएको हो ।
एसईई दिएर बसेका विद्यार्थीहरुलाई सृर्जनात्मक सक्षमतालाई उजागर गर्ने र विविध खेल विधाका माध्यमबाट आपसी सद्भाव अभिबृद्धि गर्नको लागि न्यू होराईजन उत्सवको आयोजना गरिएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए ।
विद्यालयले अध्ययन–अध्यापनसँगै विद्यार्थीको शारीरिक, बौद्धिक क्षेत्रको विकासमा विविध विधामा आन्तरिक तथा बाह्य सिर्जनात्मक क्रियाकलापहरु संचलान गर्दै आएको उनलेे बताए ।
लुम्बिनी प्रदेशका एसईई दिएका विद्यार्थीहरु सहभागिता जनाउन पाउने छन । यही जेठ २३ गतेदेखि २५ गतेसम्म टि–१० क्रिकेट प्रतियोगिताको आयोजना हुने खेल संयोजक प्रकाश खनालले जानकारी दिए । प्रतियोगितामा करिब ३० टिमको सहभागिता हुने र बिहान र साँझको समयमा प्रतियोगिता संचालन हुने विद्यालयले जनाएको छ ।
यस्तै जेठ २७ र २८ गते फुटसल, ३० गते हाजिरीजवाफ प्रतियोगिताको आयोजना हुने कार्यक्रम संयोजक मनोज सिलवालले बताए । यस्तै जेठ ३१ र ३२ गते रोबोटिक्स वर्कसप र असार १ गते म्युजिकल ट्यालेन्ट हन्टको आयोजना गरिएको उनले जानकारी गराए ।
प्रतियोगितमा प्रथम,द्धितिय ,तृतिय र सान्त्वनाका लागि अधिकतम रु २० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयले जानकारी दिएको छ । प्रदेश भरका करिब ५०० विद्यार्थीको सहभागिता हुने गरी प्रतियोगिताको आयोजना गरिएको प्राचार्य उपाध्यायले बताए ।
रुपन्देही जिल्ला भन्दा बाहिरबाट आउने विद्यार्थीहरुलाई प्रतियोगिता सञ्चालन हुँदासम्म आवाशीय सुविधा समेत रहेको उनले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा सहभागिता जनाउनको लागि कुनै शूल्क नलाग्ने विद्यालयले जानकारी दिएको छ ।






