बुटवल,२० जेठ ।
नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
बढ्दो गर्मीका कारण विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा कक्षा कोठामा बसेर अध्ययन गर्न कठिनाई भएको हुदा केहि समय विद्यालय बन्द गर्न महासंघको आग्रह छ ।
महासंघका प्रदेश अध्यक्ष हेम थापाले शनिवार एक विज्ञप्ति जारी गर्दै केहि दिन यता तराईका जिल्लाहरुमा ४० डिग्रभिन्दा माथि तापक्रम पुगेको र बढ्ने क्रम रहेको हुदा उच्च तापक्रममा स–साना बालबालिकाहरुलाई घरबाट विद्यालय जान र विद्यालयबाट घर फर्कन समस्या भैरहेको, विद्यालय गएपनि नियमित शिक्षण सिकाई क्रियाकलापमा सामेल हुन असहज भैरहेको भन्ने अभिभावकहरुको गुनासो आएको हुदा विद्यार्थीहरुको जिवन रक्षाका लागि विद्यालय बन्द गर्नु उपयुक्त देखिएकाले स्थानिय निकाय शिक्षा विकास तथा समन्वय इकाइ, विद्यालय सञ्चालक तथा सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा तराई क्षेत्रमा केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा पठनपाठनका क्रियाकलाप सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको र अत्याधिक गर्मीका कारण घाउघटिरा, झाडापाखाला जस्ता मौषमजन्य रोगहरु पनि देखिने जोखिम धेरै रहेकोतर्फ महासंघले सचेत गराएको छ ।
बढ्दो गर्मीका कारण जिल्लाका केहि विद्यालयहरु बन्द गरिएको भएपनि धेरै विद्यालयहरुका सञ्चालन गरेको तर्फ महासंघको गम्भिर ध्यानाकर्षण गराउदै तत्काल केहि दिन पठनपाठन बन्द गर्न अनुरोध गरेको छ ।
रुपन्देही लगायतका लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा उच्च
गर्मीका कारण झाडा पखला, उच्च ज्वरोका बिरामीहरूको संख्या बढेको अस्पतालहरुले जनाएका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । तराईमा लू चल्न थालेको भन्दै स्वाश्थ्य मन्त्रालयले सचेत रहन पनि आग्रह गरेको छ ।







