नेपालगन्ज,१९ जेठ ।
अत्यधिक गर्मी बढेपछि नेपालगन्जका बिद्यालय ३ दिन बन्द हुने भएको छ । गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी यही जेठ २१ गते आइतबारदेखि २३ गते मंगलबारसम्म विद्यालय बन्द गर्ने बताए ।
यस्तै जिल्लाको खजुरा गाउँपालिका आफ्नो क्षेत्रभित्रका सबै विद्यालय पनि तीन दिनका लागि बन्द गरेको छ । खजुराले यही जेठ १७ गतेदेखि १९ गतेसम्म गर्मी बिदा गर्न विद्यालयहरूलाई निर्देशन दिइएको हो । जिल्लाका अन्य स्थानीय तह पनि गर्मी बिदा गर्ने तयारीमा रहेका छन् ।
अत्यधिक गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् । दिनको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको जनाइएको छ ।
गर्मी र खानपानका कारण झाडापखालाले बालबालिका प्रभावित हुन थालेका चिकित्सकहरुले बताएका छन् । अत्यधिक गर्मीका कारण कतिपय बालबालिका विद्यालयमै बिरामी पर्न थालेको विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने र बान्ता समेत हुने गरेको छ ।









