काठमाडौँ,१७ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनलेे दुई देशबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाइ दिई जनस्तरसम्म लैजानु भ्रमणको मूल उद्देश्य रहेको बताए ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, ‘सबै मित्र राष्ट्रहरूसँग पारस्परिक समानताका आधारमा असल र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न वर्तमान सरकारले जोड दिएको छ । नेपाल र भारतबीच भौगोलिक र सांस्कृतिक सामीप्यले सदियौँ देखि जनस्तरमा रहेको हाम्रो सम्बन्ध सधैँ मित्रवत् र घनिष्ठ रहँदै आएको छ । समय समयमा हुने उच्चस्तरीय आदानप्रदानले समय सापेक्ष रूपमा थप सुदृढ र मजबुत बनाउँछ ।’

उनले भोलि भारतीयका प्रधानमन्त्रीसँग आफ्नो वार्ता हुने कार्यक्रम तय भएको र सो क्रममा केही सम्झौताहरूमा हस्ताक्षर हुने जानकारी दिए । भोलि नै राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट हुने उनको भनाई थियो । त्यस्तै, केही प्रतिष्ठित व्यापारी, लगानीसँग अन्तरक्रिया, केही महत्त्वपूर्ण परियोजना अनुगमन गर्ने पनि बताए ।

प्रधानमन्त्री दाहालको यो चौथो भारत भ्रमण हो । बुधबार नै दाहालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग पनि भेटघाट गरेका छन् ।