काठमाण्डाै,१५ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित नहुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित नहुने बताएका हुन् ।

उनले नागरिकले संविधान र कानुनमा रहेका अधिकारको प्रयोग सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो नहुने बताए ।

नागरिकको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धताकासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रुपान्तरणको सहयोगी हुने गरी काम गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘सबै राजनीतिक दल र नेपाली नागरिकबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ । लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो । तर महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली नागरिकको समान र अविचलित धारणा हुनसके मात्रै देशलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिन्छ । संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग नागरिकले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन ।’

उनलेे संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली नागरिकबीच एकता र सहकार्य बलियो हुन जरुरी रहेको बताए ।
महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली नागरिकको समान र अविचलित धारणा हुनसके मात्रै राष्ट्रिय एकताकाे जग बलियाे हुने उनकाे भनाइ छ ।

उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक रहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले गणतन्त्र र लोकतन्त्रप्रति वितृष्ण जगाउने काम भइरहेको भन्दै उनलेे यी प्रयासहरु सफल नहुने दाबी गरे । लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुने उनको धारणा थियो ।