काठमाण्डाै,१३ जेठ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार सम्बन्धि मुद्दाकाे अनुसन्धानलाई प्रभाव पर्ने खालकाे बयान रोष्टमबाट दिनु नहुने बताएका छन् । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनलेे सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए । दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सके पनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने उनको भनाइ थियो ।

कांग्रेसका नेताहरु यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिहेको भन्दै उनले कांग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको दाबी गरे । उनले मुद्दामा परेका कसैलाई पनि कांग्रेसले रोष्टममा उभिएर निर्दोष नभनेको बताए ।

उनले भने, ‘हामी न्यायाधीश हाेइनाैँ, राेष्टमबाट फैसला सुनाउनका लागि । याे बेला सरकारलाई साथ दिने समय हो, यो बेला सरकार बाहिरको दलले पनि सरकारलाई साथ दिने समय हो, समर्थन फिर्ता लिने बेला होइन । रोष्टममा उभिएर मुद्दामा परेका कसैलाई पनि न विगतमा हामीले निर्दोष भन्यौँ, न आज भन्छौँ, केवल यति भन्छौँ, अनुसन्धान र न्यायिक प्रक्रियामा कसैले प्रभावित गर्नेगरी बोल्नु हुँदैन।’

साथै, शर्माले समुन्नतिको केन्द्रमा नागरिकलाई राखेर अघि बढ्ने हो भने देश विकास हुन समय नलाग्ने बताए ।