काठमाडौं,१३ जेठ ।
पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्तिलाई अभिलेखबाट हटाउन सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

नेकपा माओवादी सांसद लेखनाथ दाहालले शुक्रबारको बैठकमा ओली सरकारको पालामा पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको भन्दै आरोप लगाएका थिए । आरोपपछि नेकपा एमालेले आफूहरूमाथि गम्भीर आरोप लागेको र अभिलेखबाट उक्त रेकर्ड नहटाएसम्म आफूहरूले संसद चल्न नदिने अडान लिएको थियो ।

त्यससँगै शनिबार बसेको बैठकमा सभामुख घिमिरेले संसद सचिवालयलाई अभिलेखबाट उक्त रेकर्ड हटाउन निर्देशन दिएका हुन् ।

त्यसअघि प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले पनि यस विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोड्नु उचित नहुने बताएका थिए ।

उनले रेकर्डबाट हटाउन अनुरोधपछि सभामुख घिमिरेले अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

‘पशुपतिनाथको जलहरीबारे चर्चा उठेको छ। पशुपति क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो। काम गरेको विषयमा कुनै विवाद छैन। त्यसमा अख्तियारमा परेको निवेदनमाथि छानविन/अनुसन्धान भइरहेको छ,’ उनले भने,‘आयोगले स्वतन्त्र छानविन गर्ने नै छ। सहयोग रहनेछ ।’