काठमाडौँ,१२ जेठ ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार बसेकाे प्रतिनिधि सभाको बैठकमा उनलेे पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

सांसद दाहालले यसबारे प्रश्न उठाउँदा नेकपा एमालेका सांसदहरूले आपत्ति जनाउँदै संसद्‍ अवरुद्ध पारेका थिए । सांसद दाहालले भने बरु एमाले अध्यक्ष केपी ओलीले नै संसद्‍मा बोल्दा संसदीय मर्यादा उल्लंघन गर्ने गरेको आरोप लगाए । संसद्‍ अवरुद्ध भएपछि पत्रकारहरूसँग बोल्दै सांसद दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सांसद दाहालले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै एमालेले आपत्ति जनाएकोमा जवाफ दिँदै सांसद दाहालले भने, ‘बरु केपी ओलीज्यूले नै २ घण्टाको अभिव्यक्तिमा हरेक ५ मिनेटमा संसदीय मर्यादा उल्लंघन गर्नुहुन्छ ।’

‘मैले प्रश्न उठाउँदा व्यक्तिमाथि किटान गरेको छैन । तत्कालीन प्रधानमन्त्रीको रुपमा केपी ओलीज्यूले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ भनेको मात्रै हुँ । संसदीय छानबिन समिति गठन गरौं न त । त्यो सुन कसले खायो ? उहाँहरूले आपत्ति जनाउनुपर्ने कुनै आधार छैन,’ सांसद दाहालले भने, ‘उहाँको सरकारको पालामा भएका भ्रष्टाचारका घटनाको छानबिन गरौं भनेर फहरिस्त बुझाउने क्रममा मैले पशुपतिको जलहरी लगाउँदा भएको अनियमितताको पनि प्रसंग उठाएको हुँ ।’

उक्त योजनामाथि पहिले नै मुद्दा परेको स्मरण गराउँदै सांसद दाहालले त्यस क्रममा ११ किलो सुन नभेटिएको दाबी गरेका छन् । संसद्‍मा दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने भन्दै एमाले सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे । उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए ।