काठमाडौँ,११ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरूमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाइएको भन्दै नागरिक अगुवाले खबरदारी गरेका छन्।
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसी लगायत मानव अधिकारकर्मी तथा नागरिक अगुवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने माग समेत गरेका छन् ।
उनीहरुले एक वक्तब्य प्रकाशित गरि नक्कली शरणार्थी प्रकरणमा प्रहरीले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेपनि अन्य शंकास्पद व्यक्तिहरूमाथि छानबिन नगरिएकोमा गम्भीर आपत्ति जनाएका हुन् ।
शंकास्पद व्यक्तिहरूमाथि छानबिन नगर्दा दण्डहीनता हाबी हुने देखिएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अनुपराज शर्मा, केदारभक्त माथेमा, पूर्वन्यायाधीश बलराम केसी, भोजराज पोखरेल, मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी, त्रिरत्न मानन्धरकाे हस्ताक्षर गरेकाे छ ।
‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरु भ्रष्टाचार काण्डमा झैं यसमा पनि दण्डहीनता हाबी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रमाणबाट देखिएका वा देखिनसक्ने जोसुकै व्यक्तिलाई न्यायको कठघरामा ल्याउनुपर्ने उनीहरुकाे माग छ । ‘अन्यथा, आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनेछ,’ बक्तब्यमा चेतावनी दिइएको छ ।






