काठमाण्डौ,९ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज मंगलवार म्याद थपका लागि अदालतमा पेस गरिएकोमा अदालतबाट थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।
सो प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृह सचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ । त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसीलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेका छन् ।
सो प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित सोमवार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ ।






