काठमाडौँ,९ जेठ ।
संघीय संसदमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजेका लागि बाेलाइएकाे छ ।
नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथिकाे छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले राय सुझाव दिइसकेका छन् ।






