काठमाडौं,८ जेठ ।
नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले आज दिउँसो काठमाण्डौ जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको हो । अब प्रतिवेदनमा भएका प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।
नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज सोमबार अपराह्न सरकारी वकिलको कार्यलायलाई बुझाएको हो ।
आरोपी ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी १७ जना अझै फरार छन् । यसअघि सार्वजनिक पद धारण गरेकाहरुलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने राय दिएको छ भने सार्वजनिक पद धारण गरेका बाहेकको हकमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने राय दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीसहित १६ जना पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजसहितका १७ जना भने फरार छन् ।





