काठमाण्डौ,४ जेठ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडान गर्ने भएको छ ।

यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्न लागेको नेपाल एअरलाइन्सले मलेसियाबाट प्रवद्र्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको हो । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र भएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले नेपाल एअरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डौ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्ने तयारी गरेको जानकारी दिए ।

त्यस अवसरमा मलेसिया–भैरहवा–काठमाण्डौका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएको उनले बताए ।
उनका अनुसार मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाण्डौका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न चाँडै नै शटल बसको व्यवस्था गर्ने उनको भनाइ छ ।

निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्ने जनाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले भर्खरै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले जनाएको छ ।