काठमाडौँ,४ जेठ ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।

उनले हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहान प्रहरीले ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो । हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।

गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए । जुन दलको सरकार बन्छ, त्यसैका नेता/कार्यकर्तालाई हज समितिमा नियुक्ति गर्ने अभ्यास भए पनि खाँणले उनको म्याद थपेका हुन् । 

स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए । बिहीबार कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिने गरी तयारी गरिरहेका बेलामा उनी पक्राउ परेका हुन् ।

हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गरेका थिएनन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् ।