काठमाडौँ, २ जेठ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा एक केन्द्राध्यक्षलाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएको छ ।
वैशाख २९ र ३१ गते गते सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको बोर्डले जनाएको छ । बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएर छोडेको हो ।
टेक्सास इ मा.वि, मित्रपार्क, काठमाडौँ केन्द्र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको हो । त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्क, काठमाडौँ र कुमारी आवासीय मा.वि, बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ । कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ ।
परीक्षामा विभिन्न खालका अमर्यादित कार्यबारे विभिन्न खाले समाचारहरू सार्वजनिक हुँदै आएका छन् । सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेजहरू सृजना गरी गलत तथा भ्रमपूर्ण सूचनाहरू समेत प्रवाह भइरहेको भन्दै बोर्डले भ्रम फैलाउने कार्य नगर्न समेत सबैलाई सचेत गराएको छ ।






