कम्तीमा २ हप्ता पक्राउ नगर्न आदेश
एजेन्सी,२९ बैशाख ।
भ्रष्टाचारको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको एउटा अदालतले जमानतमा रिहा गर्न र कम्तीमा दुई हप्ता फेरि नपक्रिन आदेश दिएको छ ।

सर्वोच्च अदालतले खानको गिरफ्तारीलाई अवैध ठहर गरेको भोलिपल्ट इस्लामाबाद उच्च अदालतले खानलाई मुक्त गर्न र कम्तीमा दुई हप्ता फेरि पक्राउ नगर्न आदेश दिएको बीबीसीले जनाएको छ । न्यायाधीशहरूले खानलाई कम्तीमा दुई हप्ता सुरक्षित हुने गरी जमानत दिएका हुन् ।

यसअघि खानले रिहा भएलगत्तै आफूलाई पुनः पक्राउ गरिने बताउनुभएको थियो । खानको पक्राउसँगै पाकिस्तानी सेनासँग उनको तनाव बढेको थियो । प्रधानमन्त्री पदबाट हटेपछि खान सेनाको सबैभन्दा प्रखर आलोचक बनेका थिए ।

गएकाे मङ्गलवार खान पक्राउ परेपछि पाकिस्तानभरि चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान गएको छ भने दुई हजार जनाभन्दा बढी मानिस पक्राउ परेका छन् ।

इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ। झडपमा २९० भन्दा बढी घाइते भएको पनि पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै १ हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ। प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन्।